कोभिड-१९: भाइरस रहेको कुनै लक्षण नदेखाउनेहरुको सङ्ख्या कति र यसबारे चिन्तित रहनु उचित?

कुनै पनि लक्षण नदेखाएका ठुलो सङ्ख्याका मानिसहरूमा कोरोनाभाइरस रहेको पुष्टि भएको दुई नयाँ अध्ययनले देखाएका छन्। यस अन्तर्गत कोभिड-१९ को लक्षण रहेको वा नरहेको अवस्थामा पनि के हामी सबैले जाँच गराउन आवश्यक रहेको छ त? यसबारे केही विज्ञहरूको विचार।

Victoria records seven new coronavirus cases and two deaths

Source: Getty Images

कोरोनाभाइरसका लक्षणहरू के के हुन् भन्नेबारे त हामीले चौतर्फी भनाइहरू सुनिनै रहेका छौँ - जस्तो कि उच्च ज्वरो, सुक्खा खोकी, श्वास प्रश्वासमा समस्या वा थकान।

तर पछिल्ला समयमा अस्ट्रेलिया लगायत जापान, आइसल्यान्ड र चीन लगायतका स्थानहरूबाट पनि कोभिड-१९ बाट सङ्क्रमित भएकाहरूमा उक्त भाइरसका कारण प्राय देखिने कुनै लक्षण नदेखिएको भन्नेबारे विभिन्न अध्ययनहरु पनि आयोजना गरिएका छन्।

जेएएमए नामक एक अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा प्रकाशित रिपोर्टका अनुसार चीनमा कोरोनाभाइरस सङ्क्रमित रहेका ७८ जना मध्ये ४२.३ प्रतिशतमा भाइरसको कुनै लक्षण देखिएको थिएन।

त्यस्तै, थोराक्स नामक संस्था द्वारा प्रकाशित गरिएको, अस्ट्रेलियाली अनुसन्धानकर्ताहरूको एक छुट्टै जाँचमा पनि ग्रेग मोर्टीमर नामक यात्रुवाहक क्रुजलाइनरका २१७ जना मध्ये कोरोनाभाइरस बाट सङ्क्रमित रहेको पुष्टि भएका प्रत्येक १० जना मध्ये ८ जनामा भाइरसको केही लक्षण देखिएको थिएन।

लक्षण देखिनु अगाडी र बिना लक्षणका साथ हुने सङ्क्रमण कस्तो हुन्छ?

यी दुई प्रकारका सङ्क्रमणबारे विश्व स्वास्थ्य सङ्गठनले थप रिपोर्ट सार्वजनिक गरेको छ।

प्रि- सिम्प्टोम्याटिक पनि भनिने अवस्थामा मानिसहरूमा कोरोनाभाइरस प्रवेश गरेता पनि उनीहरूमा भाइरसका लक्षण देखिन बाँकी रहेको हुन्छ।

तर मानिसहरूमा कुनै लक्षण नदेखिएता पनि, उनीहरूबाट भाइरस सर्दैन भनेर भन्न नमिल्ने विज्ञहरू बताउँछन्। विभिन्न अध्ययनहरुले कोरोनाभाइरस बाट सङ्क्रमित भएको एक देखि तीन दिन सम्म मानिसहरूमा कुनै शारीरिक लक्षण नदेखिएको धेरै उदाहरणहरू देखाएका छन्।

त्यसै गरी ए-सिम्प्टोम्याटिक सङ्क्रमण मा चाहिँ कोभिड-१९ का केही लक्षण नदेखाउने मानिसबाट सङ्क्रमण फैलन्छ।

यी अध्ययनबारे विज्ञहरूको भनाइ

सिड्नीको न्यु साउथ वेल्स विश्वविद्यालय स्थित कर्बी इन्स्टिच्युटमा जैविक सुरक्षा कार्यक्रम कि प्रमुख रहेकी प्राध्यापिका रैना मक्इन्टायर भन्छिन् कि कोभिड-१९ बाट सङ्क्रमित भएका मध्ये ठुलो सङ्ख्यामा मानिसहरू प्रि-सिम्प्टोम्याटिक वा ए-सिम्प्टोम्याटिक रहेका धेरै रिपोर्ट रहेका छन्।
साथै वृद्ध स्याहार केन्द्र लगायतका एकै स्थानमा ठुलो सङ्ख्यामा मानिसहरुमा भाइरस देखिएका घटनाहरू बारे भएका जाँचहरूले पनि त्यस्तो उदाहरण दिने उनी बताउँछिन्।

प्राध्यापिका रैना मक्इन्टायरका अनुसार यस्ता उदाहरणमा "सङ्क्रमण पुष्टि भएका ५० प्रतिशत भन्दा बढी सङ्ख्यामा मानिसहरुमा भाइरसको कुनै लक्षण देखिएको थिएन।"

मे महिनाको सुरुमा, मेलबर्न स्थित ग्रान्ट लज नामक वृद्ध स्याहार केन्द्रमा कोभिड-१९ को कुनै लक्षण नदेखाउने एक कर्मचारी सङ्क्रमित भएको पुष्टि भएको थियो।

"यसबारे अब बहस गरिरहनुपर्ने कुनै आवश्यकता रहेको छैन। ठुलो सङ्ख्यामा सङ्क्रमण भेटिएका स्थानमा रहेका र उनीहरूका परिवारहरू सबैको जाँच गर्नु जरुरी रहेको छ, चाहे उनीहरूमा भाइरसको कुनै लक्षण नदेखिएता पनि, नत्र सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन असम्भव हुनसक्ने छ, मक्इन्टायर भन्छिन्।

"भाइरस विरुद्ध लड्ने मानिसहरूको शारीरिक क्षमता विकास हुन १०-१४ दिन सम्म लाग्ने भएकोले महामारी फैलँदै गर्दा र्यापिड एन्टीबडी टेस्टले सीमित सफलता हात पार्नु कुनै नौलो कुरा हैन।"

केही विशेषज्ञहरू भने लक्षण बिनाको कोभिड-१९ का मामिलाहरू बारे उति साह्रो निश्चिन्त छैनन्।

सञ्जय सेनानायके अस्ट्रेलियन नेशनल विश्वविद्यालयमा सरुवा रोग विशेषज्ञका रूपमा कार्यरत छन्।

चीनमा गरिएको एक अध्ययनका शोधकर्ताहरू मानिसहरूले कोरोनाभाइरसका लक्षण नदेखिएकै कारण आइसोलेसनमा नबसेको निष्कर्षमा पुगेको थिए र त्यसलाई उल्लेख गर्दै उनी भन्छन् कि उक्त शोध कार्यमा संलग्न भएका व्यक्तिहरूले त्यस्ता बिरामीहरूको कारण उक्त रोग अन्य कतिलाई सरे नसरेको नहेरेको बताए।

फेब्रुअरी महिनामा विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओ) र चिनियाँ मिसनद्वारा ले लक्षण नदेखिएका मानिसहरूको परीक्षण गर्दै जाने क्रममा रोगका लक्षणहरू बिस्तारै देखा पर्न थालेको बताएको थियो।

प्रोफेसर सेनानायके उक्त अध्ययनको दायरामा परेका मानिसहरू पछि गएर बिरामी भए नभएको यकिन गर्न आफूले नसकेको बताउँछन्।

“अब यसमा अर्को सीमितता पनि छ, जसलाई लेखकहरूले पनि स्वीकारेका छन् र त्यो के हो भने लक्षण नदेखिएका मानिसहरूको परीक्षण कत्तिको भरपर्दो थियो। के यो सम्भव छ कि उनीहरू एकदमै पनि अस्वस्थ नभए पनि सत् प्रतिशत स्वस्थ रहेको अनुभूति पनि गरिरहेका थिएनन् जस्तो कि व्यायाम आदि गर्न उनीहरूलाई अप्ठ्यारो लागिरहेको थियो?”

विविध अध्ययनहरूले लक्षण नदेखाएका बिरामी सङ्ख्याको अनुपात फरक फरक देखाएको बताउँदै, उनले बिना लक्षणको कोभिड-१९ मामिलाहरू बारे जान्न कठिन भइरहेको पनि उल्लेख गरे।

आइसल्यान्डमा ५० प्रतिशत मानिसहरू बिना लक्षण सङ्क्रमित भएको पाइएको छ भने जापानमा उक्त सङ्ख्या ३०.८ प्रतिशत छ।

अनि चीनमा नै गरिएको एक अन्य अध्ययनले भने ८० प्रतिशत मानिसहरू लक्षण बिना नै सङ्क्रमित भएको भनेर देखाएको छ।

“कुन सही हो भनेर भन्न गाह्रो छ। बिना लक्षण सङ्क्रमित हुने सङ्ख्याको अनुपात बारे बुझ्न निकै नजिक रहे पनि त्यस प्रकारका मानिसहरूले रोग सार्न कत्तिको ठुलो भूमिका निर्वाह गर्छन् भनेर यकिनका साथ अझै भन्न सक्ने अवस्थामा छैनौँ।”

प्रत्येक बिरामी यात्रुका लागि लक्षण प्रदर्शन नगर्ने ४ अन्य यात्रु

वल्टर एन्ड एलाइजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चमा महामारीविज्ञका रूपमा कार्यरत प्रोफेसर आइभो मुलरका अनुसार लक्षण नै नदेखिएका मानिसहरूले अरूलाई कोरोनाभाइरस सङ्क्रमित तुल्याइदिने बारे बुझ्न यो महामारीले आगामी दिनहरूमा कस्तो स्वरूप ग्रहण गर्नेछ भनेर थाहा पाउन पनि अति जरुरी छ।

“अनि के-कस्ता रोकथामका उपाय प्रयोग गरेर सङ्क्रमणको दोस्रो लहरलाई रोक्न सकिन्छ,” उनले भने।

९६ अस्ट्रेलियाली यात्रुहरू सवार ग्रेग मोर्टीमर क्रुज जहाजमा रहेका कुल २१७ मानिसहरू मध्ये १२८ जनालाई परीक्षणका क्रममा कोभिड-१९का लागि पोजेटिभ भेटियो। ती मध्ये १०४ जना वा ८१ प्रतिशतले उक्त रोगका कुनै लक्षण देखाएका थिएनन्।

“अर्को भाषामा भन्ने हो भने हरेक बिरामी यात्रुका लागि रोगका लक्षण नदेखाउने चार जना थिए। यदि यही क्रम अन्यत्र पनि दोहोरिएको खण्डमा जहाँ लक्षण देखाउने मानिसहरूको मात्र परीक्षण भएको छ - ती स्थानहरूमा हाल भनिएको भन्दा ५ गुणा ज्यादा सङ्ख्यामा मानिसहरूमा सङ्क्रमण भेटिन सक्छ।”

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 
covid-19.png

Share
Published 1 June 2020 1:00pm
By Ahmed Yussuf


Share this with family and friends