भिसा कुर्दा कुर्दा समस्यामा परेका आप्रवासी कामदार

अस्ट्रेलियाको पीआर पाउन हाल मानिसहरूले कुर्न पर्ने समय लम्बिँदै जाँदा अस्थायी भिसामा रहेका धेरैले देश छाड्न बाध्य भएको पनि बताइएको छ।

Wei 'Mira' Chen

Wei 'Mira' Chen Avustralya'da bir gelecek planlıyordu. Source: SBS News

अस्ट्रेलियाको स्थाई बसोबास वा पर्मानेन्ट रेसिडेन्सी भिसाका आवेदन हालेकाहरूले हाल भिसाको लागि कुर्न पर्ने समय लम्बिँदै जाँदा, धेरै आप्रवासीहरू ठुलो सङ्कटमा परिरहेको अध्यागमन एजेन्ट र श्रम सङ्गठनहरूको भनाइ छ।

पीआर नआउन्जेल अस्थायी भिसामा रहेका धेरै कामदारहरू शोषणका सिकार हुनुका साथै देश छाड्न पनि बाध्य भएको बताउँछन्।

आरएसएमएस (RSMS) भनिने ग्रामीण प्रायोजित आप्रवासी योजना अन्तर्गतको १८७ वर्गको भिसाको लागि हाल २१ महिना सम्म पर्खनु पर्ने अवस्था रहेको छ भन्छन् अध्यागमन एजेन्ट निकोलस ह्युस्टन।

क्यानबेरामा आफ्नो अध्यागमन व्यवसाय सञ्चालन गरी रहेका ह्युस्टनका अनुसार, यतिको लामो समयसम्म भिसाको लागि कुर्न बाध्य भएका आवेदकहरूले धेरै पिडा र तनावको सामना गर्नुपरिरहेको छ।

 

जानीजानी भिसामा ढिलाइ गरिएको?

निकोलस ह्युस्टन भन्छन्, ग्रामीण क्षेत्रमा काम उपलब्ध छैन भने पीआर नदिनु उपयुक्त हुन्छ।

तर, प्रायोजनमा परेका आवेदकहरूको भिसा प्रोसेस गर्न हाल अध्यागमन विभागले लगाइरहेको समय र त्यसो गर्न अपनाइरहेको तरिका प्रति आफ्नो ठुलो आपत्ति रहेको पनि उनी बताउँछन्।

अस्ट्रेलिया भित्रिने आप्रवासीहरूको सङ्ख्यालाई रोक्न अध्यागमन विभागले जानी जानी भिसा प्रक्रियालाई लम्बाइएको उनी आरोप लगाउँछन्।

“विदेशी कामदारहरूको प्रायोजन गर्न मिल्ने रोजगारदाताहरुको क्षमतालाई कानुनी बदलावका साथ नियन्त्रण गर्नु सट्टा, भिसाको लागि पर्खनु पर्ने समयलाई लम्बाउँदै लाइनमा रहेका मानिसहरूको सङ्ख्या विभागले बढाई रहेको छ”, उनी भन्छन्।
“अभिभावक भिसाहरूका लागि त पर्खनु पर्ने समय १८ देखि ३६ महिना सम्म पुगेको छ।”
ह्युस्टनको उक्त भनाइ प्रति समर्थन जनाउने अर्का अध्यागमन एजेन्टको भनाइ पनि त्यस्तै छ।

गए हप्ता मात्र देशको स्थाई भिसा पाउने आप्रवासीहरूको सङ्ख्या ३० हजारले घटाउने भनी जुन निर्णय गरेको थियो त्यसपछि अध्यागमन विभागले भिसा आवेदनहरूलाई चाँडो प्रोसेस गर्ने कुनै सङ्केत देखिएन भन्छन्, मेलबर्न एजेन्ट कर्क यान।
जानकारी प्राप्त गर्न पाउने अधिकारका साथ यानले हात परेको सुचनाकाअनुसार यस वर्षको फेब्रुअरी महिनामा ५० हजार डलरसम्म लाग्न सक्ने अभिभावक भिसा कुरिरहेकाहरूको सङ्ख्या ४३ हजार रहेको थियो।

सरकारले भने बढ्दो माग र आवेदनहरू माथि गरिने जाँचका कारण भिसा प्रोसेस गर्न ढिलाइ भएको हुनसक्ने बताएको छ।

एसबीएसलाई दिएको एक विज्ञप्तिमा उसले भनेको छ, “भिसा प्रोसेस गर्न लाग्ने समय विभिन्न कारणहरू माथि निर्भर रहन्छन्, जस्तो कि: आवेदन सङ्ख्या, आवेदन पुरा भरिएको छ कि छैन, विभागद्वारा माग गरिएका जानकारीहरू प्रदान गर्न आवेदनहरूले लगाउने समय, साथै स्वास्थ्य, चरित्र, राष्ट्रिय सुरक्षा मापदण्डहरू बारे जाँच गर्न रहेका जटिलता।”

 

भिसा आवेदकहरूको सङ्कट

दुई वर्षसम्म भिसाको पर्खाइमा रहनुपरेका कामदारहरूलाई प्रयोजन गर्ने संस्था बन्द भए त्यसले झनै समस्या निम्त्याउने पनि बताइएको छ।

युनाइटेड भ्वाइस नामक श्रम सङ्गठनका लिन्डल रायनका अनुसार, दुई वर्ष भनेको कुनै पनि व्यवसायको लागि धेरै लामो समय हो।

“विशेष गरी केही उद्योगहरूमा, व्यवसायहरू चाडै बन्द हुन सक्ने सम्भावना रहेको छ। त्यसरी बन्द हुने व्यवसायहरूमा अस्थायी भिसाका साथ काम गरिरहेकाहरू माथि झनै ठुलो असर पर्न सक्दछ”, उनी भन्छन्।
“आफ्नो भिसा आउनु अगाडी विदेशी कामदारहरूले नयाँ प्रायोजक खोज्नु पर्ने हुन्छ।”
तर नयाँ प्रायोजक नभेट्नेहरूका लागि सो समयमा भिसा नीतिमा बदलाव भए उनीहरू अस्ट्रेलिया छाडेर जान बाध्य हुनसक्ने बताउँछन् लिन्डल रायन।

 

एक आवेदकको अनुभव



यस्तै समस्यामा पर्ने अस्थायी कामदारहरू मध्येकी एक हुन् चिनिया नागरिक वेइ ‘मिरा’ चेन।

आफ्नो श्रीमानसँग गए पाँच वर्षदेखि अस्ट्रेलियामा काम गरिरहेकी ३० वर्षीय चेनले दुई पटक पर्मानेन्ट रेसिडेन्सी पाउने मौका गुमाउनु परेको थियो।

दुवै समयमा उनी काम गर्ने रेस्टुरेन्ट बन्द भए पछि अस्ट्रेलियाको स्थाई भिसा पाउने उनको आशा निराशामा परिणत भएको हो।

पछिल्लो समयमा ३,५०० डलर सम्मको शुल्क तिर्दै भिसा आवेदन हालेको आफूले काम गर्ने रेस्टुरेन्ट बन्द हुने भएपछि अध्यागमन विभागमा रहेको आफ्नो भिसा आवेदन असफल हुने सम्भावना रहेको उनी बताउँछिन्।

 


Share
Published 26 March 2019 4:20pm
Updated 12 August 2022 3:34pm
By SBS Nepali, Rosemary Bolger
Source: SBS


Share this with family and friends