कोरोना सङ्कट: अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि आशाका किरण

अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सङ्घीय सरकारले उपेक्षा गरिरहेको भन्ने विभिन्न सरोकारवालाहरूले आरोप लगाउँदै गर्दा बिस्तारै आशाका किरणहरू देखा पर्न थालेका छन्।

Australian universities

Source: AAP

कोभिड-१९ को मारमा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरू अध्ययनरत विश्वविद्यालयहरू सहयोगका हात बढाउँदै गर्दा सङ्घीय सरकारले पनि यसबारे कदम चाल्ने सङ्केत दिएको छ। 

गत आइतवार सङ्घीय शिक्षा मन्त्री ड्यान टिहानले शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहयोगबारे जांच गरिएको बताएका थिए।  विश्वविद्यालयहरू निमित्त एक राहत प्याकेज घोषणा गर्ने क्रममा उनले उक्त जानकारी गराएका हुन्। 

तर यस अन्तर्गत के काम भएका छन् भन्नेबारे चाहिं मोरिसन सरकार बाट केहि जानकारी आएको छैन। 

प्रधानमन्त्री स्कट मरिसन तथा कार्यवाहक अध्यागमन मन्त्री एलन टजले, अन्तर्राष्ट्रिय विद्यार्थी सहित अस्थायी भिसा धारकहरूलाई कोरोना सङ्कटका कारण उत्पन्न आर्थिक बोझ थाम्न नसके आफ्नै देश फर्किन बारम्बार ताकेता गर्दै आइरहेका थिए।
तर, थुप्रै देशहरू लकडाउन स्थितिमा हुनुका साथै अन्तर्राष्ट्रिय हवाई सेवा एवं सिमानाहरू बन्द भएका कारण विदेशी विद्यार्थीहरूलाई आफ्नो घर फर्किन पनि सोचेजस्तो सहज परिस्थिति हाल रहेको छैन। 

त्यसमाथि आर्थिक सङ्कटका कारण आफू बसेको घरको भाडा समेत तिर्न धेरैलाई गारो भैरहेको अवस्थामा ती अन्तर्राष्ट्रिय विद्यार्थीहरूले महँगो भाडा दरका हवाई टिकट तिरेर स्वदेश फर्किन सक्ने सम्भावना पनि एकदमै कम देखिन्छ।

यसबारे प्रतिपक्षी लेबर पार्टी कि छायाँ अध्यागमन मन्त्री क्रिस्टिना कनेलीले पनि सरकार द्वारा अन्तर्राष्ट्रिय विद्यार्थी लगायत अस्थायी भिसामा रहेकाहरुको समस्यालाई नबुझेको आरोप लगाएकी छन्।
यही सेरोफेरोमा, अस्ट्रेलियामा रहेका लगभग हरेक जसो विश्वविद्यालयहरूले अप्ठेरोमा परेका र आफूकहाँ भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्न सुरु गरेता पनि धेरै विद्यार्थीहरूले ती शैक्षिक प्रतिष्ठानद्वारा प्रतिपादित सहयोगका लागि योग्य हुने सीमा भित्र आफूलाई पाएका छैनन्।

विशेष गरेर क्यास-इन-ह्याण्ड काम गरेर आफ्नो अस्ट्रेलियाली अस्ट्रेलियाली जीवन धान्ने अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्नो आय स्रोत बन्द भएको देखाउन नसक्दा ती विश्वविद्यालयहरूले घोषणा गरेको राहत प्याकेजबाट विमुख हुनुपरेको बताइएको छ।

अस्ट्रेलियन फेडेरेसन अफ इन्टरनेशनल स्टुडेन्ट्स भनिने अस्ट्रेलियाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्घकी एक अधिकारी ओलेना न्युएन भन्छिन् कि धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो आर्थिक कठिनाइ प्रमाणित गर्न निकै गाह्रो भइराखेको छ।

“यदि उनीहरू भविष्यमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू यहाँ आएर अध्ययन गर्न चाहन्छन् भने उनीहरूले अहिले हामीलाई सहयोग गर्नु आवश्यक छ,” उनले सरकार तर्फ इङ्गित गर्दै एसबीएस समाचारलाई भनिन्।
International students and virus lockdowns
International students risk of homelessness Source: Mizzama
हाल फेडेरेसन विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी गौरव गुरुङले यस्तै क्रम चलिरहे छिट्टै थुप्रै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बिचल्ली हुने एसबीएस नेपालीलाई बताएका थिए।

“हाल धेरै साथीहरूले सरकारबाट यस विषयमा केही सहयोग पाउने आसा मारिसक्नु भएको छ। थुप्रै जना त आलु र प्याज मात्रै पाए पनि खुसी हुने स्थिति भइसक्यो,” उनले भने।

“घर भाडाको हकमा भने कसैले ३०% सम्म छुट पाउनुभएको मैले सुनेको छु, अन्य केही साथीहरूमा चाहिँ यस विषयमा अन्योल कायम नै छ। उहाँहरूलाई कहाँ जाने र कसरी यस विषयमा सहयोग माग्ने भन्ने जानकारी नै छैन।”

गुरुङ हाल विभिन्न सरोकारवालाहरूसँग मिलेर सङ्घीय सरकारलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरू नीतिगत रूपमै ठोस कदम चाल्न लबी समूहहरूसँग समन्वय गरिरहेका छन्।

झन्डै ३९ अर्व डलर वार्षिक रूपमा अस्ट्रेलियाली अर्थतन्त्रमा योगदान दिँदै आएका पाँच लाखभन्दा पनि बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई हालको जस्तो विषम परिस्थितिमा उनीहरूको कुनै दोष नरहँदा समेत सरकारले उपेक्षा गर्दा त्यसको परिणाम अस्ट्रेलियाको उच्च शिक्षा उद्योगलाई निकै घातक हुने यस क्षेत्रका जानकारहरू बताउँछन्।

नेशनल टर्शरी एजुकेसन युनियन (एनटीईयू) भनिने देशभरका उच्च शिक्षा क्षेत्र सम्बन्धी कर्मचारीहरूको प्रतिनिधित्व गर्ने राष्ट्रिय उच्च शिक्षा सङ्घले अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मद्दत पुग्ने थप कार्यक्रम सरकारी तहबाट नहुनुलाई “लाजमर्दो”को संज्ञा दिई सकेको छ।

“समय राम्रो रहेको बेला हामीले उनीहरूबाट पैसा लियौँ, त्यो पनि यत्ति विघ्न लियौँ कि सन् २०१८ मा त त्यो पैसा हाम्रा विश्वविद्यालयहरूको कुल आर्जनको २६ प्रतिशतभन्दा पनि बढी थियो। अब, स्थिति अनुकूल नहुँदा भने, हामी उनीहरूलाई ‘माफ गर, तिमीहरू अब आफ्नै भरमा छौ’ भनिरहेका छौँ। यो त एकदमै लाजमर्दो व्यवहार भयो,” एनटीईयूका राष्ट्रिय अध्यक्ष एलिसन बार्न्सले केही दिन अघि मात्रै भनेकी थिइन्।

अर्वौँ डलरको योगदान पुर्‍याएको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका महत्त्वपूर्ण कडीका रूपमा रहेका विद्यार्थीहरूलाई राम्रो व्यवहार नगरिएकोमा इन्टरनेशनल एजुकेसन एसोसिएसन (आईईए) भनिने अन्तर्राष्ट्रिय शिक्षा सङ्घका प्रमुख कार्यकारी फिल हनीवूडले चिन्ता व्यक्त गर्दै यही त्रास र अभावको क्रम जारी रहे एक लाख भन्दा बढी विदेशी विद्यार्थीहरूको सडकमा बास हुने पक्का-पक्की भएको बताउँछन्।

“यो स्पष्टै छ कि यस विषयमा अब केही नगरी हुँदैन।”

“सङ्घीय सरकारबाट यस सम्बन्धी एक राष्ट्रिय राहत कोषलाई अनुदान प्राप्त भएको खण्डमा, अस्ट्रेलियाले यी युवाहरूको ख्याल राख्दछ भन्ने कुरा बाँकी विश्वलाई प्रमाणित गर्न निकै काम गर्ने छ,” उनले एसबीएस समाचारलाई बताए।

हनीवूडका अनुसार अस्ट्रेलियाले अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा रहेको साख जोगाउन पनि अन्तर्राष्ट्रिय विद्यार्थीको हेरचाह गर्न जरुरी छ, विशेष गरेर यस मानवीय सङ्कटको अवस्थामा।
Universities Australia chief executive Catriona Jackson.
Universities Australia chief executive Catriona Jackson. Source: SBS News
उता, अस्ट्रेलियाली विश्वविद्यालयहरूको छाता सङ्गठन यूनिभर्सिटिज अस्ट्रेलियाकी प्रमुख कार्यकारी क्याट्रिओना ज्याक्सनले एसबीएसलाई बताए अनुसार आफूहरू पनि सङ्घीय सरकार समक्ष अन्तर्राष्ट्रिय विद्यार्थीको लागि लबी गरी नै रहेका छन्।

“देशभरका विश्वविद्यालयहरू राहत कोषहरू स्थापना गरिनै रहेका छन् तर उनीहरू समक्ष सहयोग माग्न जाने हातहरू ती शैक्षिक प्रतिष्ठानले दिनसक्ने भन्दा ज्यादा सङ्ख्या भइसकेको छ। यस्तो अवस्थामा हामी सरकारसँग राहत कोशको लागि वार्ता जारी नै राख्ने छौँ,” उनले भनिन्।

यसै सम्बन्धमा शिक्षा मन्त्री ड्यान टिहानले गत आइतबार विश्वविद्यालयहरू निमित्त एक राहत प्याकेज घोषणा गर्ने क्रममा पुष्टि गरे कि सरकार शिक्षा क्षेत्रमा सम्भव सहयोगका उपायहरू प्रदान गर्न काम गरिरहेको छ।
Federal Education Minister Dan Tehan unveiled a coronavirus relief package for the higher education sector last month.
Federal Education Minister Dan Tehan Source: AAP
“अन्तर्राष्ट्रिय विद्यार्थीहरूका निम्ति सहयोग पुर्‍याउन कस्तो प्रकारको संयन्त्र प्रयोग हुन सक्छ भनेर हेर्न हामीले अधिकारीहरूलाई आग्रह गरेका छौँ," उनले विश्वविद्यालयहरूलाई यस विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बारे धन्यवाद दिँदै भने।

यस अघि, सङ्घीय सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरू सहित अस्थायी भिसा धारकहरूलाई उनीहरूको सुपरएन्नुएसन (निवृत्तिभरण)सम्मको पहुँच प्रदान गर्नुका साथै विदेशी विद्यार्थीहरूले काम गर्न पाउने घण्टाको अवधि बढाई सकेको छ।

विशेष गरेर, खुद्रा पसल तथा रेस्टुरेन्ट-बार एवं क्याफेहरूले सामाजिक दुरी लगायतका सार्वजनिक स्वास्थ्य सम्बन्धी ऐन कानूनका कारण कि त आफ्नो ढोका बन्द गरेका छन् वा टेक अवेका लागि आवश्यक पर्ने अति सीमित कर्मचारीहरू मात्र राखेर हाल सञ्चालन गरिरहेका कारण थुप्रै अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलियामा आर्थिक मारमा परेका छन्।

 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि  जानुहोस्।
COVID-19 Nepali Infographics
Source: SBS Nepali

Share
Published 15 April 2020 11:22am
Updated 15 April 2020 11:37am
By Tom Stayner


Share this with family and friends