अस्ट्रेलियाका सहायक विदेश मन्त्री स्वदेश फिर्ता र भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी पक्राउ: गत सात दिन नेपालमा

Assistant Foreign Minister Tim Watts in Nepal

Assistant Foreign Minister Tim Watts with Nepali women leaders during his visit to the Himalayan nation.

नेपालको दुई दिने भ्रमणमा पुगेका अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्स भ्रमण पुरा गरि स्वदेश फिर्ता भएका छन्। मङ्गलवार नेपाल आएका वाट्स आफ्नो भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सरिक भए। उनकै भ्रमणमा पाटन स्थित रत्नेश्वर मन्दिरको एक टुँडाल लामो समय पछि आफ्नो वासस्थान फर्केको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ। यसका साथै नेपालबाट पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।



विदेश मन्त्री टिम वाट्स नेपाल भ्रमण पुरा गरि स्वदेश फिर्ता

अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्स नेपालको दुई दिने भ्रमण सकेर फर्केका छन्।

मङ्गलवार नेपाल आएका वाट्सले आफ्नो भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सरिक भए।

यस्तै उनले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेट गरे। उनले हिमालयन उद्धार सङ्घ नेपाललाई अस्ट्रेलियामा निर्मित पोर्टेवल अल्टीटुड च्यामबर (पिएसी) हस्तान्तरण गरे।

सो सामाग्री सङ्घको फेरिचे स्वास्थ्य केन्द्र र सगरमाथा आधार शिविरमा रहेको एभरेष्ट आकस्मिक क्लिनिकमा प्रयोग हुने बताइएको छ।

सहायक मन्त्री वाट्सले सङ्घलाई अस्ट्रेलियाली सरकारको तर्फबाट अस्ट्रेलियाली र अन्य नागरिकहरूलाई पदयात्रा तथा हिमाल आरोहण गर्दा आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सेवा प्रवाह गरेकोमा धन्यवाद ज्ञापन गरे।

"नेपाल साहसिक पर्यटनकालागि एक मनपराईएको गन्तव्य हो।"
Assistant Foreign Minister Tim Watts in Nepal.
Assistant Foreign Minister Tim Watts in Nepal. DFAT/Madhab Poudel
प्रत्येक वर्ष करिब २७,००० अस्ट्रेलियालीहरू नेपाल भ्रमण गर्दछन् र यस वर्ष अस्ट्रेलिया नेपालको चौथो ठुलो पर्यटकको श्रोतको रूपमा रह्यो ।

पर्यटन क्षेत्र तङ्ग्रिरहो यो अवस्थामा अझै धेरै अस्ट्रेलियालीहरूले यो वर्ष नेपाल भ्रमण गर्ने अपेक्षा रहेको छ," उनले भने।

“तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारीले सगरमाथाको पहिलो सफल आरोहण गरेको ७० औँ वार्षिकोत्सव मनाई रहँदा सगरमाथा शिखरमा पुग्ने प्रयास गर्दा विभिन्न घटनाहरूमा ज्यान गुमाउने ३०० भन्दा बढी पर्वतारोहीहरूको स्मरण गर्दछौँ।

गत महिना खुम्बु आईसफलमा भएको घटनामा ज्यान गुमाउने शेर्पा पथप्रदर्शकहरू र अन्यहरू प्रति हार्दिक समवेदना प्रकट गर्दछु।

यस्ता दुखद घटनाहरूले अस्ट्रेलिया र हिमालयन उद्धार सङ्घ सँगको जारी सहकार्यको महत्त्वलाई अझै उजागर गर्दछ।”

अस्ट्रेलियाको उत्पादन पिएसीले तत्काल र सुरक्षित रूपमा होचो स्थानमा झर्न कठीनाई हुने र बिरामी हलचल गर्न नसक्ने गरी लेक लागेको अवस्थामा यो अवस्थालाई तत्कालीन व्यवस्थापन गर्न सहयोग गर्छ ।

नेपाली र विदेशी नागरिकहरूलाई दुर्गम उच्च हिमाली क्षेत्रहरूमा राम्रो गुणस्तरको स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस अघि अस्ट्रेलियाले सङ्घलाई स्याटलाइट फोन र अन्य उपकरणहरू सहयोग गरेको छ।


रत्नेश्वर मन्दिरमा फर्कियो टुँडाल

पाटन स्थित रत्नेश्वर मन्दिरको एक टुँडाल लामो समय पछि आफ्नो वासस्थान फर्केको छ।

करिब १३ औँ शताब्दीमा बनेको उक्त टुँडाल सन् १९७५ तिर हराएको थियो। लामो समय हराएको उक्त टुँडाललाई अस्ट्रेलियाको न्यु साउथ वेल्स आर्ट ग्यालरीका रत्नेश्वर मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई मङ्गलवार एक भव्य समारोहबिच हस्तान्तरण गरे।

हस्तान्तरण समारोहमा दुई दिने नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाका सहायक विदेश मामिला मन्त्री टिम वाट्स, नेपालका लागि अस्ट्रेलियाकी राजदूत, ललितपुरका मेयर चिरिबाबु महर्जन लगायतका उच्च पदाधिकारीको उपस्थिति रहेको थियो।

हस्तान्तर कार्यक्रमलाई सम्बोधन गर्दै सहायक विदेश मामिला मन्त्री वाट्सले टुँडाल हस्तान्तरण एउटा कथाको अन्त्य नभएर यो सँगै दुई देशका सांस्कृतिक संस्थाहरू बिच सहकार्यको सुरुवात हुने आशा लिएको बताए।

दक्षिण एसियाको कलाका एक पारखिले उनको मृत्युपछि सो टुँडाल न्यु साउथ वेल्सको आर्ट ग्यालरीलाई दिएका थिए।


भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले भुटानी शरणार्थीका एक अगुवा टेकनाथ रिजाललाई सोधपुछका लागि पक्राउ गरेको हो।

सो प्रकरणमा यसअघि समातिएका केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा प्रहरीले रिजालमाथी निगरानी बढाएको र अनुसन्धानको क्रममा सो गिरोहसँग उनको साँठगाँठ रहेको हुनसक्ने देखिएकोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस्तै प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मिँयालाई पनि पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी बनाउने क्रममा हज समितिको गाडी प्रयोग भएको देखिएको र नक्कली शरणार्थी बनाउनका लागि पनि उक्त गाडी प्रयोग भएको आशङ्कामा प्रहरीले उनि माथी निगरानी बढाएको थियो।

हज समिति गृह मन्त्रालय अन्तर्गत हुन्छ र मिँयालाई रामबहादुर थापा गृहमन्त्री रहँदा २०७७ माघ ७ गते अध्यक्ष नियुक्त गरेका थिए भने बालकृष्ण खाँण गृहमन्त्री हुँदा मियाँको कार्यकाल २ वर्षका लागि थपी दिएका थिए।

यसैबिच राष्ट्रिय मानव अधिकार आयोगले एक पत्रकार सम्मेलन गरी जनताको सेवामा खटिएका निकायहरु नै राज्य शक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाइ मानव बेचबिखन गर्नु लोकतन्त्रको लागि चिन्ताको विषय भएको बताएको छ।

सो कार्यक्रममा आयोगले राज्य शक्तिको दुरुपयोग नक्कली शरणार्थी बनाउनु भनेको मानव बेचबिखन गर्नु हो भनी प्रस्ट पार्‍यो।


यस्तो कार्य ठगी मात्र नभई गम्भीर प्रकृतिको अपराध भएको भन्दै आयोगले यस विषयमा सबैको ध्यानाकर्षण समेत गराएको छ।


पक्राउ परे रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले यस विषयमा अनुसन्धान गर्न सघाउने बताएर एकाएक सम्पर्क विहीन भएका रायमाझीलाई प्रहरीले काठमाण्डौंको पासिकोट भन्ने ठाउँबाट पक्राउ गरेको हो।

रायमाझीका छोरालाई प्रहरीले यसअघिनै पक्राउ गरिसकेको छ।

यस प्रकरणमा उनी मुछिएपछि नेकपा एमालेका सचिव रहेका रायमाझीलाई उनको दलले निलम्बन गरेको छ।
Narayan Kaji Shrestha.jpg
Deputy Prime Minister and Home Minister Narayan Kaji Shrestha inspecting and directing the Nepal Police Headquarters. (Representational Image) Credit: Ministry of Home Affairs Nepal
काँग्रेसमा खाणलाई निलम्बन गर्नुपर्ने माग

नेपाली काँग्रेसका शीर्ष नेता बालकृष्ण खाण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ तेस्रो देश पुर्‍याउन प्रकरणमा मुछिएपछि उनलाई निलम्बन गर्नु पर्ने माग दलभित्रबाट उठेको छ।

उक्त विषय पार्टीको बैठकमै उठाए पनि यस विषयमा सुनुवाइ नभएपछि नेपाली काँग्रेसका महामन्त्री गगन थापाले यस साता प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै "कुनै पदमा बसेको मान्छे माथि अभियोग लागेपछि स्वतः निलम्बन हुने भएको बताए र यही अवधारणा अनुरूप खाणलाई पनि निलम्बन गर्नुपर्ने बताए।"

"नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीको एक जना मुछिनु भएको छ। विधिको शासन भएपछि कानुनी प्रक्रिया सबैले पालना गर्नुपर्छ।यो राष्ट्र विरुद्धको द्रोहजस्तो अपराधमा अनुसन्धान गरेर जो जो मुछिनुहुन्छ सबैलाईकारबाही गर्नुपर्छ," उनले भने।

"यो बेलामा मेरो नजिकको सम्बन्ध छ भनेर हुँदैन।"

नेपाली काँग्रेसका अर्का नेता शेखर कोइरालाले पहिलो पटक यस विषयमा सार्वजनिक रूपमा बोलेका छन्। कोइरालाले यस विषयलाई ढाकछोप गर्न खोजियो भने काँग्रेसको अवस्था मात्र नभई देशकै अवस्था नाजुक भएर जाने बताए।

"यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसक्यो। यो मुद्दालाई कमजोर बनाउनका लागि अरू मुद्दा ल्याइएला भन्ने चिन्ता लागेको छ,' उनले भने। 'यो मुद्दाले नेपालको सार्वभौमिकता माथि नै प्रहार भइरहेको छ।"

साफ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा

पुरुष साफ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन्। साफ च्याम्पियनसिप असार ६ देखि १८ सम्म भारतको बेंगलुरुमा आयोजना हुँदै छ।

उक्त च्याम्पियनसिपका लागि बुधवार दक्षिण एसियाली फुटबल महासङ्घले 'ड्र' आयोजना गरेको थियो

जसमा नेपाल छिमेकी भारत सँगै पाकिस्तान र कुवेतसँग समूह 'ए' मा परेको हो।

यस्तै समूह 'बी' मा भुटान, मालदिभ्स,बङ्गलादेश र लेबनन रहेका छन्। फिकाको प्रतिबन्धको कारण दक्षिण एसियाली मुलुक श्रीलंकाले यस प्रतियोगितामा सहभागिता जनाउने छैन। साथै कुवेत र लेबनान चाहिँ आमन्त्रित टोलीको रूपमा प्रतियोगितामा सहभागी हुँदैछन्।

महिला क्रिकेट टोलीले टी-२० विश्वकप छनोट खेल्ने

राष्ट्रिय महिला क्रिकेट टोलीले बङ्गलादेशमा हुने टी-२० विश्वकप छनोट खेल्ने भएको छ। नेपाल सहित ११ राष्ट्रले क्षेत्रीय हुँदै ग्लोबल छनोट खेल्ने छन्।

जसमा नेपाल, चीन, हङकङ, भुटान, बहराइन, कुवेत, मलेसिया, म्यानमार, कतार, युएई र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन्।

कामिरिताले तोडे आफ्नै कीर्तिमान

पर्वतारोही कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका छन्।

बुधवार बिहान ५३ वर्षीय कामिरिताले २७ औँ पटक सगरमाथा आरोहण गरे।

यसअघि पनि उक्त कीर्तिमान उनकै नाममा रहेको थियो।

तर गत साता अर्का नेपाली पर्वतारोही पासाङ दावा शेर्पाले २६ ‍औँ पटक सगरमाथाको आरोहण गर्दै कामी रिताको कीर्तिमान बराबरी गरेका थिए।

Share