घरमा म र्यापर बन्न चाहन्छु भन्न लाज लाग्थ्यो - "लाहुरे" आशिष राना

Ashish Rana Laure

Ashish Rana Laure Source: Supplied

नेपाली र्यापर आशिष राना अर्थात लाहुरे नेपालमा र्याप संस्कृति बिस्तार गर्न लागिपरेका छन् । ‘ताण्डव’ नामक नेपाली फिल्मबाट अभिनय यात्रा सुरु गरेका उनले ‘युद्ध’, ‘सबै हो लाहूरे’, ‘यो पोखरा मेरो’ र ‘मेरो सोल्टा’ लगायत गीतहरु चर्चामा छन् । आफ्नो सांगीतिक र अभिनय यात्राबारे उनले एसबिएस नेपालीसँग गरेको कुराकानी ः


१.नेपालमा र्याप संस्कृतिलाई बिस्तार गर्न लागिपर्नु भएको तपाई, अहिले के गरिरहनु भएको छ ?

नयाँ एल्बम भर्खरै सार्वजनिक गरेको छु । त्यसको प्रमोसनमा सक्रिय भइरहेको थिए । एमटिभीको नेपाली रियालिटी शो ‘हिमालय रोडिइज्’ मा निर्णयकको रुपमा आवद्ध भएको छु । त्यसबाहेक कन्सर्टहरुमा सक्रिय छु ।

२.हिपपप र र्याप कल्चरको अवस्था नेपालमा कस्तो रहेको छ ?

नेपालमा हिपपप र र्याप म्युजिक आलुजस्तो भइसकेको छ । सबै खालका इभेन्टहरुमा हिपपप र र्याप म्युजिकहरुअनिवार्य रुपमा समेटिएका छन् । कर्पोरेट पाटीदेखि कन्सर्टमा सहभागि दर्शक श्रोता हिपपप र र्याप म्युजिकमा रमाउन थालेका छन् । युवा पुस्तामा अझ चर्चा पाइरहेको छ ।

३. हिपपप र र्याप म्युजिकमा युवा पुस्ताहरुमात्र रमाउनुको कारण के होला ?

यसमा सबै खालका व्यक्तिहरु रमाउने गरेका छन् । यस विधामा वास्तविकता समेटिएको हुन्छ । हिपपपले रियालिटी प्रस्तुत गर्ने भएकाले कहिलेकाँही छाडा शब्दहरुपनि प्रयोग भइरहेका हुन्छन् । कारण हामी जीवनमा यस्ता शब्द बोल्छौं र त गीतमा प्रस्तुत भएक हुन्छन् । यो एउटा नांगो संस्कृति भएकाले सबैमा यसलाई पचाउन सक्ने क्षमता नहुन सक्छ ।

४.नेपालमा हिपपप र र्याप भन्ना साथ गालीगलौजमात्र भनेर बुझाइएको छ । किन ?

हिपपप र र्याप संस्कृति गाली गर्नको लागि जन्मिएको हो । कन्टोभसीबाट जन्मिएको हुँदा सामाजिक विकृतिमाथि यो हावी भएको हो ।

५. केही समयअघि नेपाली फिल्म ‘ताण्डव’मा देखिनुभएको थियो । रहर पुरा गर्न फिल्म खेल्नु भएको हो ?

म एक कलाकार हुँ । अभिनय र गीत भनेको एउटै परिवारजस्तो हो । फिल्ममा अभिनय गर्दा आफन्त भेट्न गएकोजस्तो महशुस गरेको थिएं । अभिनय र गीतले एक अर्कोलाई सहयोग गरेर परिपक्क बन्न सहयोग गर्छ ।

६. र्याप म्युजिकमा करियर बनाउँदा परिवारको साथ कतिको पाइयो ?

नेपालमा र्याप म्युजिकको करियर सुरु गर्ने ताका म कालो भेडाजस्तो थिए । केही कुरापनि घरपरिवारलाई नभन्ने स्वभाव थियो । आमा बुबाले पत्रिका पढेर मेराबारेमा थाहा पाउनु भएको थियो । सुरुमा गाली गनुभएको थियो । मैले उहाँहरुलाई भरोसा दिलाएकी म र्याप म्युजिकमा लागेर परिवार पाल्न सक्छु भने । त्यसपछि साथ दिनु भएको थियो ।

७. करियर यसमा बनाउँदा आम्दानीचाहि कस्तो हुने रहेछ ?

यसमा स्मार्ट इन्भेस्टमेन्टको चाहिन्छ । कमाएको पैसा बनाउन नसक्दा पुराना कलाकारहरु बिमारी हुँदा चन्दा उठाउनु पर्ने अवस्था छ । कलाकारहरुले यस क्षेत्रलाई व्यापारको हिसाबमा सोच्नु जरुरी छ । कमाई पैसाको सदुपयोग गरेर कुनै व्यापारमा लगाउन सकिन्छ ।

८.र्याप गीत गाउने कलाकारहरुलाई नेपाली समाजले ट्यापे भन्ने गरेको छ । किन ?

सुरुमा यसमा लाग्नेहरु त्यस्तै भएर होला । सबैलाई ट्यापे भनेपनि मलाईचाँहि ग्याङस्टारजस्तो भन्थे ।

९. आशिष राना लाहुर नगइकन कसरी लाहुरे भए ? लाहुरे उपनाम राख्नुको केही कारण छ ?

मलाई लाहुर पठाउने आमा बुबाको इच्छा थियो । लाहुर जान नपाएको कथा र हामीले बाँच्नका लागि हरेक दिन गरेको युद्धलाई तुलना गरेर लाहुरे उपनाम राखेको हुँ । सबै जना लाहुरेजस्तो लाग्छ । बाँच्नका लागि विभिन्न संघर्ष गरिरहेका छौं । त्यसैले हामी त्यसको विरुद्ध लडी रहेको हुँदा लाहुरे राखेको हुँ।

१०.आगामी योजना ?

र्याप म्युजिकलाई निरन्तरता दिनेछु । हिपपप र र्याप म्युजिकमा लाग्न चाहने युवाहरुलाई प्रोत्साहन गर्न रेकर्ड लेभल खोलेको छु । यसले र्यापरहरुलाई सहयोग गर्नेछ। त्यसबाहेक ब्याट कम्पनीमार्फत कपडा व्यापारमा हात हाल्ने तयारी गरिरहेको छु ।

Watch video for Laure's song Superraga!

Share