पूर्व उपप्रधानमन्त्री नै मुछिए भुटानी शरणार्थी प्रकरणमा र रास्वपाद्वारा सरकारको समर्थन फिर्ता: गत सात दिन नेपालमा

Narayan Kaji Shrestha.jpg

Deputy Prime Minister and Home Minister Narayan Kaji Shrestha inspecting and directing the Nepal Police Headquarters. (Representational Image) Credit: Ministry of Home Affairs Nepal

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली सर्वसाधारणबाट लाखौँको रकम ठगी गर्ने गिरोहमा विभिन्न विशिष्ट व्यक्तिहरूको नाम जोडिएको छ। यस क्रममा पछिल्लो समयको अनुसन्धानमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको पनि नाम बाहिर आएको छ। यसका साथै नेपालबाट पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


रास्वपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

रास्वपा केन्द्रीय समिति र संसदीय दलको शुक्रबार बसेको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले बताएका हुन्।

दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रास्वपाले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए।

"संसारभरका नेपालीले रास्वपाले प्रतिपक्षमा रहेर काम गरोस् भन्ने चाहनु भएको छ। हामी रचनात्मक प्रतिपक्षी कस्तो हुन्छ भन्ने विश्वलाई देखाइ दिनेछौँ," लामिछानेले भने।
NEPAL NEW PRIME MINISTER OATH
Rabi Lamichhane is the President of Rastriya Swatantra Party. EPA/NARENDRA SHRESTHA Source: EPA / NARENDRA SHRESTHA/EPA
उनको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारण प्रस्ट पार्दै उनले भने, "सरकारमा सहभागी हुँदा रास्वपाले भने बमोजिम विगतका जुनसुकै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने नीति तथा कार्यक्रम रहेकोमा पछिल्लो पटक सो बुँदालगायत सुशासनका बुँदा हटाएको लगायतका विषय उठाउँदै रास्वपाले समर्थन फिर्ता लिएको हो।"

रास्वपाका सभापति रवि लामिछानेले नागरिकता पुन:प्राप्ति गरेपछि गृह मन्त्रालय मागेका थिए तर प्रचण्डले उक्त मन्त्रालय लामिछाने वा उनका दलका अन्य सांसदलाई दिन अस्वीकार गरेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो।

सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन। उपनिर्वाचन पछि रास्वपाले सरकारलाई दिएको समर्थनबारे थप निर्णय गर्ने आङ्कलन गरिएको थियो।

विश्वासको मत लिने बारे चर्चा

मङ्सिरमा सम्पन्न निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार बनाएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पहिलो पटक पुषको दोस्रो सातामा विश्वासको मत लिएका थिए।

त्यसयता उनले फेरी एक पटक गरी कुल दुई चोटि विश्वासको मत लिएका छन्। उनले दोस्रो पटक विश्वासको मत लिइरहँदा प्रतिपक्षमा बस्ने निर्णय गरेका दलहरूले प्रचण्डले सोचेभन्दा चाँडै तेस्रो पटक विश्वासको मत लिन पर्ने अवस्था सिर्जना हुन सक्ने बताएका थिए।

शुक्रबार रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुन:विश्वासको मत लिनुपर्ने विषयमा निकै चर्चा चलेको छ। कतिपयले प्रचण्डले विश्वासको मत लिन नपर्ने तर्क राखेका छन् भने कतिपयले यसको विपक्षमा तर्क गरेका छन्।

संसदको तेस्रो ठूलो दल रास्वपाको पछिल्लो निर्णयले संसद भित्र अङ्क गणितको खेल सुरु भएको विज्ञहरूले बताएका छन्।

सरकारलाई दिएको समर्थन फिर्ता गरेको रास्वपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धन बनाउन सक्ने आशङ्का कतिपयले गरेका छन्। तर रास्वपाले तत्कालका लागि विपक्षीको भूमिका निर्वाह गर्ने बताएको छ।

यसैबिच माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रास्वपाले समर्थन फिर्ता लिएको औपचारिक निर्णय सरकारलाई नदिएको बताएका छन्।

यस्तै उनले सररकासँग स्पष्ट बहुमत रहेकोले सरकार माथि प्रश्न उठ्ने अवस्था नरहेको पनि उनले बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिए पूर्व मन्त्री

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले केही उच्च ओहदामा रहेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ।

यस प्रकरणमा केही सर्वसाधारण संलग्न रहेको विवरण प्रहरीले यसअघि नै सार्वजनिक गरिसकेको थियो।

हालसम्म आठ जनालाई पक्राउ गरिसकेको र अन्य अझै केही व्यक्तिहरूको नाम सार्वजनिक हुन सक्ने जिल्ला प्रहरी परिसर काठमान्डुका प्रमुख एसएसपी दान बहादुर कार्कीले बताए।

यस साता प्रतिनिधिसभाका सदस्य एवं पूर्व उप-प्रधानमन्त्री समेत रहेका र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी यस प्रकरणमा मुछिएका छन् तर प्रहरीको सम्पर्कमा उनी आएका छैनन्।

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको सरकारले भ्रष्टाचार विरुद्ध काम गर्न थालेको र अब धेरै फाइलहरू खुल्दै जाने बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरण यसको सुरुवात रहेको बताएका छन्।

नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, "सरकारले भ्रष्टाचार विरुद्ध काम गर्न थालिसक्यो र यो (नक्कली भुटानी शरणार्थी प्रकरण) ट्रेलर मात्र हो। हेर्दै जानुस् सिङ्गै फिल्म देखिन्छ।"

नेपाल एसिया कपका लागि छनोट

नेपाल एसीसी एसिया कपका लागि छनोट भएको छ। घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपालले एसिया कपमा आफ्नो स्थान सुरक्षित पारेको हो।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको हो।

एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने छ।

नेपालका कप्तान रोहित कुमार पौडेलले भारत, पाकिस्तानसँग खेल्ने सपना पुरा भएको बताए।

खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, "एसिया कप हाम्रो लागि ठूलो छ। सानैदेखि भारत-पाकिस्तानको खेल हेर्दै आयौ आज त्यही प्ल्याटफर्ममा पुगेर उनीहरूसँग खेल्दै छौँ।"
नगद पुरस्कार

एसिया कपमा स्थान बताएको नेपाली क्रिकेट टोलीलाई सरकारले नगद पुरस्कार दिने निर्णय गरेको छ।

सूचना तथा सञ्चारमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माका अनुसार बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको हो। टिमका अन्य पदाधिकारीलाई चाहिँ जनही तीन लाख दिने निर्णय भएको छ।

पछिल्लो समय नेपाली क्रिकेट टिमले पाएको सफलताका कारण क्रिकेटको भौतिक पूर्वाधार विकासमा पनि सरकारको ध्यान गएको छ।

मन्त्रीपरिषद्ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आगामी बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

चीनसँग हतियार किन्ने बारे छलफल भएको छैन: मन्त्री शर्मा

सरकारले चीनसँग ठूलो रकम खर्च गरेर हतियार किन्न लागेको विवरणहरू सार्वजनिक भइरहेको अवस्थामा सरकारले यस विषय छलफल नै नभएको बताएको छ।

सञ्चारकर्मीहरूसँगको नियमित भेटघाटमा सरकारको प्रवक्ता समेत रहेकी सञ्चार एवं सूचनामन्त्री रेखा शर्माले चीनसँग ६ अर्बको हतियार किन्नेबारे मन्त्रीपरिषद्मा कुनै छलफल नभएको बताइन्।

विभिन्न संचार माध्यमहरूमा सरकारले ६ अर्ब खर्च गरेर चीनबाट हतियार ल्याउन लागेको विवरणहरू आएका छन्।

यस विषयमा सञ्चारकर्मीहरूले मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा राखेको प्रश्नको जवाफमा मन्त्री शर्माले भनिन्,"यस्तो प्रस्ताव क्याबिनेटमा आएको छैन। त्यस कारण यस विषयमा छलफल नै भएको छैन।"

परराष्ट्रमन्त्री बेलायतका राजाको राज्याभिषेकमा सहभागी

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्सको राज्याभिषेकमा सहभागी भएका छन्। राज्याभिषेक समारोहमा नेपालको प्रतिनिधित्व गर्नका लागि उनी यस साता बेलायत प्रस्थान गरेका थिए।

उनी राज्याभिषेक र स्वागत समारोह दुवैमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मन्त्री साउद मङ्गलवार स्वदेश फर्कने छन्।
आयुर्वेदको औषधि आयात गर्नुपर्ने अवस्था विडम्बना: उपराष्ट्रपति

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा आधाभन्दा बढी आयुर्वेद ‌औषधि आयात गर्नुपर्ने अवस्थालाई विडम्बनाको संज्ञा दिएका छन्।

प्रथम राष्ट्रिय आयुर्वेद अचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्ने क्रममा उपराष्ट्रपतिले यस्तो बताएका हुन्।

जडीबुटीको प्रचुर सम्भावना भएको देशमा आएको यस्तो अवस्थालाई अन्त्य गर्न स्थानीय जडीबुटी र स्रोतसाधनहरूको धेरैभन्दा धेरै प्रयोग गर्ने गरी लगानी र उत्पादनमा वृद्धि गर्न उनले सरोकारवालाहरू माझ जोड गरेका छन्।

उनले नेपाललाई "मेडिकल टुरिजम"को हबका रूपमा विकास गर्ने सकिने भन्दै यस तर्फ आवश्यक पूर्वाधार र नीति बनाउन पनि आग्रह गरे।

पूर्व राजाको सक्रियता प्रति प्रधानमन्त्रीको असन्तुष्टि

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति असन्तुष्टि जनाएका छन्।

गत साता नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा एवं उनको परिवारलाई लक्षित गर्दे आलोचना गरेको एक साता नबित्दै प्रधानमन्त्री प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो।

अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले पूर्व राजा सक्रिय हुन खोजेको आरोप लगाउँदै त्यस प्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीले पूर्व राजालाई सङ्केत गर्दै जनताले फोहोर फ्याँक्ने ठाउँमा फालेको व्यक्ति पूर्वबाट उठ्न खोजेको बताए।

"इतिहासमा कुनातिर मिल्काइएका सामन्तका छाउराहरू बाहिर आएको देख्नुभएको छ। इतिहासले आम नेपाली जनताले बुन कर्कटमा फोहोर फ्याँक्ने ठाउँमा फालिसकेकाहरू पनि उठेर अझै पूर्वबाट रे। मेचीबाट तपाईँहरूले हिसाब गर्नु भएको छ नि," उनले भने।

"मैले त्यसको जवाफ फागुन १ गते जनयुद्ध दिवसमा बिदा दिएर दिएँ।"

Share