कोरोनाभाइरसका कारण मेलबर्नको होली कार्यक्रम प्रभावित

कोरोनाभाइरसका कारण शनिवार हुने भनिएको एक कार्यक्रम स्थगित हुन पुगेको छ भने आइतवार हुने अर्को कार्यक्रम भने हाललाई यथावतै रहने बताइएको छ।

Holi Nepali Festival of Colour

Source: Facebook/Melbourne Photo Project

भिक्टोरिया राज्यमा प्रत्येक वर्ष मार्च महिनाको दोस्रो सोमबारलाई श्रम दिवसको रूपमा मनाउन सार्वजनिक बिदा दिने चलन छ।

सोमवार सहित तीन दिनसम्म काममा जानु नपर्ने हुनाले भिक्टोरियालीहरू यस लामो सप्ताहान्तलाई लेबर डे लङ्ग वीकेण्ड भनेर सम्बोधन गर्छन् र यसै अवसरमा मेलबर्न सहरको मुटु भएर बग्ने स्थानीय यार्रा नदी वरपर तीन दिने मूम्बा महोत्सवको पनि आयोजना हुन्छ।

यसपालि भने होली पनि यही लामो सप्ताहान्तको लगत्तै परेको सन्दर्भमा भिक्टोरियाका नेपाली लगायत अन्य समुदायका मानिसहरूलाई लक्षित गर्दै दुई भिन्नाभिन्नै होलीका कार्यक्रमहरू आयोजना हुने पूर्व निर्धारित कार्यक्रम थियो।
Nepali Holi Festival Melbourne
Source: Facebook/Melbourne Photo Project/MCV
भिक्टोरियामा बसोबास गर्दै आइरहेका मधेसी समुदायको प्रतिनिधि गर्ने सङ्गठन मधेसी कम्युनिटी इन भिक्टोरियाले शनिवार ७ मार्चका दिन बिहान ११ बजेदेखि साँझसम्मै होलीका अवसरमा विविध क्रियाकलापका साथ होली कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम अन्तिम समयमा आएर रद्द भएको छ।

शुक्रवार १३:५६ बजे फेसबुकमा एक सन्देश लेख्दै उक्त संस्थाका उपाध्यक्ष गोपालकुमार साहले हाललाई उक्त कार्यक्रम रद्द गरिएको घोषणा गरेका छन्।

आफूहरूले लामो समयदेखि उक्त कार्यक्रम आयोजनाको तयारी गरेता पनि कोरोनाभाइरसका कारण उत्पन्न अप्रत्याशित परिस्थिति जनाउँदै आफ्ना पाहुना, सहभागी, स्वयंसेवी र कमिटी सदस्यहरूको सुरक्षा गर्नु पहिलो प्राथमिकता रहेको साहले लेखेका छन्।

निकट भविष्यमा पुनः उक्त कार्यक्रम गर्ने अठोट पनि उनले आफ्नो उक्त सन्देशमा व्यक्त गरेका छन्।



यसभन्दा अघि गोपालकुमार साहले एसबीएस नेपालीसँग कुराकानी गर्दै आफूहरूले अघिल्लो वर्षका कार्यक्रमहरूबाट प्राप्त प्रतिक्रियाहरूलाई ध्यान दिँदै यसपालि होली मनाउन आउने मानिसहरूलाई थप सुविधा र मनोरञ्जनको व्यवस्था गरिएको बताएका थिए।

“लास्ट यर तीन सय जति (मानिसहरू) आउनु भएकोमा यसपालि चाहिँ हामीले लगभग पान सय जति आउने अपेक्षा गरेका छौँ,” उनले हामीसँग गरेको कुराकानीका क्रममा भनेका थिए।
Melbourne Nepali Holi
Source: Facebook/Melbourne Photo Project/MCV
निःशुल्क कार्यक्रम भएकोले उक्त कार्यक्रममा भाग लिन आउने सबैलाई अबिर लगायतका रङ्ग तथा अन्य सामग्री निःशुल्क उपलब्ध गराइने जानकारी पनि साहले दिएका थिए।

“हामी कसैलाई पनि रङ्ग लगाउनै पर्छ भनेर जबरजस्ती गर्दैनौँ - त्यहाँ बार्बिक्यु छ, म्युजिक छ - नाचौँ गाऔँ रमाइलो गरौँ - हाम्रो उद्देश्य त्यही हो।”

साहसँग गरिएको कुराकानी सुन्न तलको लिङ्कमा जानुहोस्:
Holi Jatra
Source: Facebook/Sankalpa Photography/S Events

फेडेरेसन स्क्वेरमा आइतबार हुने साङ्गीतिक जात्राको कार्यक्रम यथावत नै

मधेसी कम्युनिटी इन भिक्टोरियाको होली कार्यक्रम हाललाई रद्द गरिएता पनि ८ मार्च आइतबार मेलबर्न सहरको केन्द्रबिन्दु - फेडेरेसन स्क्वेर स्थित दी प्याडक भनिने खुला चौरमा हुने भनिएको साङ्गीतिक जात्रा नाम दिईएको सामुदायिक कार्यक्रम यथावत नै चल्ने यसका आयोजकले एसबीएस नेपालीलाई बताएका छन्।

यस बारे थप रिपोर्ट तलको लिङ्कमा उपलब्ध छ:

Share
Published 6 March 2020 4:10pm
Updated 7 March 2020 4:55pm


Share this with family and friends